डोल्पाको शेफोक्सुण्डो गाउँपालिका-३ रहेको शेल सुम्दो गुम्बामा भदौ १६ गते देखि २१ गतेसम्म ६७ औं १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको आयोजना हुने भएको छ ।

मेला आयोजनाको अधिकांश तयारी सम्पन्न भएको आयोजकले बताएका छन् । मेलाका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यस्तो जानकारी दिएका हुन् ।
उक्त अवसरमा अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहे पनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्त्वपूर्ण गन्तव्य भएको बताए । उनले भने, साहसिक पर्यटनको लागि डोल्पा लुकेको भूमि हो । अध्यक्ष गुरुङले शेल रिवो डुग्ड्रा मेलाले डोल्पाको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिएको बताउँदै भने, ‘बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक रुपमा विविधता भएकोले डोल्पामा जाने पर्यटकहरूले विविध अनुभुति हासिल गर्न सक्छन् ।’
खस तथा मस्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदिबाट अलौकिक अनुभूति लिन सकिने आयोजकले बताएका छन् ।
ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करिब १५ हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।
६७ औं १२ वर्षे शेल रीवो डुग्डू (शे) मेला २०८ १ मुल आयोजक समिति र शेफोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाले सह आयोजकका रुपमा यो मेलाको आयोजना गर्न लागेका हुन् । प्रचारप्रसार समितिका संयोजक तथा शेफोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले ऐतिहासिक यो मेलालाई सफल बनाउन र यसको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताउँदै यसले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान मिल्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथि संघीय संसद्की उपसभामुख इन्दिरा रानाले डोल्पा प्राकृतिक रुपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न थप सहज हुने बताइन् ।