कालिकोट — जिल्ला कार्यसम्पादन समिति सदस्य तथा दलित विभाग प्रमुख पपेन्द्र विश्वकर्मा (बी.पी.) ले नेपाली कांग्रेस शुभकालिकाको चुनावी सभामा सम्बोधन गर्दै कांग्रेस स्पष्ट उद्देश्यसहित जितका लागि अघि बढिरहेको बताएका छन्।
बिपिले भने, “नेपाली कांग्रेस जनताको भरोसा र लोकतान्त्रिक मूल्य–मान्यतालाई आधार बनाएर चुनावी मैदानमा उत्रिएको छ। हामी व्यक्तिगत स्वार्थका लागि होइन, जिल्लाको विकास र समृद्धिका लागि संगठित रूपमा अघि बढेका हौँ।”
विश्वकर्माले कांग्रेसले दलित, पिछडिएका तथा सीमान्तकृत समुदायको हक–अधिकार सुनिश्चित गर्न विशेष प्राथमिकता दिएको उल्लेख गरे। बिपिले सबै कार्यकर्तालाई अनुशासन, एकता र सक्रियताका साथ चुनावी अभियानमा लाग्न आग्रह गरे।
उनका अनुसार कांग्रेसले घरदैलो अभियान, जनसम्पर्क तथा सभामार्फत जनताको विश्वास जित्ने रणनीति अपनाएको छ। “हामी विचार, संगठन र जनसमर्थनका आधारमा यो निर्वाचन जित्ने दिशामा छौँ,” बिपिले जोड दिए।
चुनावी सभामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको थियो।