कालिकोट, साउन १५। तिलागुफा नगरपालिकामा करदाता सेवा (PAN) औपचारिक रूपमा शुभारम्भ गरिएको छ। संघीय सरकारको कर प्रशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्दै नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याइएको हो।
नगरपालिकाका अनुसार अब तिलागुफा नगरपालिकाका नागरिक तथा उद्योगी–व्यवसायीहरूले सामान्य PAN सम्बन्धी सेवाका लागि जुम्लासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ। स्थानीय स्तरमै सेवा उपलब्ध भएपछि समय, खर्च र श्रमको बचत हुनुका साथै करदातामैत्री प्रशासन निर्माणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले स्थानीय सरकार नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने लक्ष्यअनुसार निरन्तर काम गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “करदाता सेवा (PAN) को शुभारम्भसँगै नगरवासीले सामान्य PAN सम्बन्धी सेवाका लागि अब जुम्ला धाउनुपर्ने अवस्था हटेको छ। यसले नागरिकको समय, खर्च र श्रम बचत गर्ने मात्र होइन, स्थानीय स्तरमै प्रभावकारी, पारदर्शी र करदातामैत्री सेवा प्रवाहलाई थप मजबुत बनाउनेछ। आगामी दिनमा पनि तिलागुफा नगरपालिकाले प्रविधिमैत्री, छरितो र गुणस्तरीय सार्वजनिक सेवा विस्तार गर्दै सुशासन र समृद्ध स्थानीय शासनको अभियानलाई निरन्तर अघि बढाउनेछ।”
उपमेयर शाहीले सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक सहजीकरण, समन्वय तथा सहयोग उपलब्ध गराउने आन्तरिक राजस्व कार्यालय, जुम्लाका अधिकृत भूपी पौडेल, सन्देश घिमिरे तथा सम्पूर्ण कर्मचारी टोलीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहमा राजस्व प्रशासनलाई प्रभावकारी र नागरिकमैत्री बनाउन उक्त सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा उपस्थित सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
तिलागुफा नगरपालिकाले आगामी दिनमा पनि नागरिकको घरदैलोमै सहज, छरितो, पारदर्शी तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै सुशासन, उत्तरदायित्व र समृद्ध स्थानीय शासनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ।