सामाजिक संजाल:

नविल बैंक सार्ने प्रक्रियामा अध्यक्ष रोकायाको हस्तक्षेप

फाल्गुन ६, २०८२

कालीकोट।
पलाँता गाउँपालिकाको स्थायी केन्द्र रानीबिसौना बजारमा नविल बैंकको शाखा सार्ने प्रक्रियामा गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले गैरजिम्मेवार र पूर्वाग्रही भूमिका खेलेको गम्भीर आरोप लागेको छ।
नविल बैंकले पलाँता गाउँपालिकाको थिर्पु शाखा रानीबिसौनामा स्थानान्तरण गर्न २०८२ पुष २५ गते बोलपत्र आह्वान गरी माघ ९ गते आशयको सूचना प्रकाशित गरेको थियो। बैंकले स्थानीय हिरामणी प्याकुरेलको घरमा शाखा सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा गाउँपालिका अध्यक्ष रोकायाले बैंकको केन्द्रीय कार्यालयमा पत्र पठाई “बैंक बस्ने भनिएको घर विवादित रहेको” भन्दै स्थानान्तरण रोक्न खोजेको उजुरीमा उल्लेख छ।
स्थानीयका अनुसार उक्त घर सबै कानुनी प्रक्रिया पूरा भइसकेको भए पनि अध्यक्ष रोकायाले आफ्ना नजिकका व्यक्तिको घर नपरेपछि योजनाबद्ध रूपमा विवाद सिर्जना गरेको आरोप लगाइएको छ। यसलाई प्रशासनिक निर्णयभन्दा पनि व्यक्तिगत स्वार्थ प्रेरित हस्तक्षेपका रूपमा लिइएको छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयले गाउँपालिकासँग समन्वय गरी सुरक्षा संवेदनशीलता र बैंक स्थानान्तरणबारे विवाद रहेको जनाएको थियो। पीडित पक्षले बैंक शाखा नागरिकको सहज सेवाका लागि स्थायी केन्द्रमा सार्न खोज्दा अनावश्यक विवाद खडा गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए।
निवेदनपछि प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुव्यालले तत्कालीन अवस्थामा बैंक नसार्न पत्र पठाएका थिए। यसले स्थानीय सेवाग्राहीहरू थप समस्यामा परेको बताइएको छ।
स्थानीय नमराज बुढाका अनुसार, “चारकिल्ला सिफारिस, वडा सिफारिसलगायत पालिकाले दिनुपर्ने सबै आवश्यक कागजात रोक्नु सामान्य प्रशासनिक लापरबाही होइन, यो स्पष्ट रूपमा पूर्वाग्रह र दुराशयपूर्ण निर्णय हो।”
उनले बैंक शाखा पलाँता गाउँपालिकाको स्थायी केन्द्र रानीबिसौनामा सार्ने नाममा अध्यक्ष रोकायाले आफ्ना नजिकका व्यक्तिको घरमा बैंक राख्ने उद्देश्यले योजनाबद्ध रूपमा प्रक्रिया अवरुद्ध गरेको आरोप लगाए।
स्थानीय नागरिकहरूले अध्यक्षको यो कदमले विकास र सेवा विस्तारभन्दा पनि निजी स्वार्थलाई प्राथमिकता दिएको स्पष्ट सन्देश गएको भन्दै निष्पक्ष छानबिन र जिम्मेवार कारबाहीको माग गरेका छन्।