कालिकोट ,
रमेश कुमार शाेनि
निर्माण व्यवसायी महासंघ, कर्णाली प्रदेशको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशन आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले कर्णालीभरका निर्माण व्यवसायीहरूको विशेष चासो रहेको छ।
अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, निर्माण व्यवसायी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको छ। अधिवेशनमार्फत आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिने कार्यक्रम रहेको महासंघले जनाएको छ।
अध्यक्ष पदका आकांक्षीमध्ये पूर्व कर्णाली प्रदेश महासचिव, बसना निर्माण सेवाका निर्देशक तथा रास्कोट नगरपालिका निवासी मानव बमले अध्यक्ष पदमा आफ्नो बलियो दाबी प्रस्तुत गरेका छन्। लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय बम संगठनभित्र अनुभवी, समन्वयकारी तथा व्यवसायीहरूको साझा आवाजका रूपमा परिचित छन्।
उम्मेदवार बमले निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, पारदर्शी र उत्तरदायी नेतृत्व, संस्थागत सुदृढीकरण तथा सार्वजनिक खरिद प्रणालीमा आवश्यक नीतिगत सुधारलाई आफ्नो नेतृत्वको मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले कर्णालीका सबै जिल्लाका निर्माण व्यवसायीलाई एउटै सूत्रमा आबद्ध गर्दै महासंघलाई अझ सशक्त, प्रभावकारी र परिणाममुखी संस्था बनाउने लक्ष्य रहेको बताए। साथै सार्वजनिक खरिद प्रक्रिया, निर्माण सम्पन्न भइसकेका आयोजनाको समयमै भुक्तानी, व्यवसायीहरूले भोगिरहेका समस्याको समाधान तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको उनको भनाइ छ।
अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवारबीच चुनावी गतिविधि पनि तीव्र बनेको छ। यसबीच मानव बमको उम्मेदवारीलाई निर्माण व्यवसायीहरूको बीचमा प्रतिस्पर्धात्मक र अर्थपूर्ण रूपमा हेरिएको छ। अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले कर्णाली प्रदेशका निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, संस्थागत विकास तथा व्यवसायिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।