सामाजिक संजाल:

उपसभामुख चौलागाईद्वारा कालिका आधारभूत विद्यालयको फिल्ड तथा घेरबार शिलान्यास

भदौ १३, २०८३

कालिकोट । कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने चौलागाईले खाडाचक्र नगरपालिका–३, विघाचाखा ताडीस्थित श्री कालिका आधारभूत विद्यालयको फिल्ड तथा घेरबार निर्माण कार्यको शिलान्यास गर्नुभएको छ।
विद्यालयको भौतिक तथा शैक्षिक वातावरणलाई थप व्यवस्थित बनाउने उद्देश्यले निर्माण गर्न लागिएको फिल्ड तथा घेरबारको उपसभामुख चौलागाईले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा बोल्दै उपसभामुख चौलागाईले विद्यालयको भवन निर्माणसहित अन्य भौतिक पूर्वाधारका लागि केही बजेट व्यवस्था भइसकेको बताउँदै आवश्यकताअनुसार आगामी दिनमा थप बजेट व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार बलियो र व्यवस्थित हुनुपर्नेमा जोड दिनुभयो। विद्यालयको विकाससँगै विद्यार्थीको शैक्षिक भविष्य निर्माण हुने भएकाले तीनै तहका सरकार तथा सरोकारवाला निकायले शिक्षाको क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताइन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय कालिकोटका कार्यालय प्रमुख अविराज शाहीले विद्यालयको पूर्वाधार विकाससँगै शिक्षण सिकाइको गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने बताए । उहाँले सरकारी निकाय, स्थानीय तह र समुदायबीचको सहकार्यबाट विद्यालयको समग्र विकास सम्भव हुने शाहिले बताए ।
खाडाचक्र नगरपालिका–३ का वडा अध्यक्ष ददिराम पाण्डेले वडा क्षेत्रमा रहेका शैक्षिक संस्थाको विकासका लागि वडा कार्यालयले आवश्यक सहयोग र समन्वय गर्दै आएको बताउनुभयो। उहाँले विद्यालयको भौतिक पूर्वाधार निर्माणले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्राविधिक गोविन्द विकको समेत उपस्थिति रहेको थियो।
विद्यालयका अतिथिहरूलाई स्वागत गर्दै शिक्षिका कल्पना सेजुवालले विद्यालयको विकास र शैक्षिक सुधारका लागि सहयोग गर्ने सबै सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नु भएको हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक भीम प्रसाद पाण्डेले गर्नुभएको थियो।
फिल्ड तथा घेरबार निर्माण सम्पन्न भएपछि विद्यालय परिसर थप सुरक्षित, व्यवस्थित र विद्यार्थीमैत्री बन्ने अपेक्षा गरिएको छ। स्थानीयवासी तथा विद्यालय परिवारले निर्माण कार्यले विद्यालयको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।