सामाजिक संजाल:

तिलागुफा–२ मा ओखडगाट झोलुंगे पुल सञ्चालनमा, स्थानीयवासी खुसी

भदौ ४, २०८३

कालिकोट — तिलागुफा नगरपालिका–२ रतडास्थित ओखडगाटमा निर्माण सम्पन्न भएको झोलुंगे पुलको उद्घाटन गरिएको छ। पुलको उद्घाटन तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले गरेका हुन्।
वडा नम्बर २ का वडा अध्यक्ष तुलबहादुर बोहराको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख उपाध्याय प्रमुख अतिथि तथा नगर उपप्रमुख महेन्द्रबहादुर शाही विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख उपाध्यायले स्थानीयवासीको आवतजावतलाई सहज बनाउन पुलले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विकास निर्माणका काममा स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण सम्पन्न भएको पुलको संरक्षण र सदुपयोगमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने बताए।
नगर उपप्रमुख शाहीले पुल निर्माणले रतडा लगायत आसपासका बस्तीका नागरिकलाई आवतजावतमा सहजता ल्याउने बताए। उनले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा पूर्वाधार विकासलाई निरन्तरता दिइने उल्लेख गरे।
झोलुंगे पुल कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको आर्थिक सहयोग तथा हुरन्डेक नेपाल कालिकोटको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको हो। पुल निर्माणका क्रममा अहोरात्र खटिएको उपभोक्ता समिति तथा स्थानीयवासीको योगदान महत्वपूर्ण रहेको बताइएको छ।
पुल निर्माण सम्पन्न भएसँगै जोखिमपूर्ण रूपमा खोला वारपार गर्नुपर्ने बाध्यता हटेको भन्दै रतडा बासीले खुसी व्यक्त गरेका छन्। स्थानीयवासीले पुल निर्माणमा सहयोग गर्ने सम्बन्धित निकाय, उपभोक्ता समिति तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेका छन्।