सामाजिक संजाल:

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बस्दै, पर्ख र हेरको नीतिमा राप्रपा

असार १८, २०८१

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक मंगलबार दिउँसाे बस्ने भएकाे छ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हाे।

वर्तमान सत्ता समीकरणलाई लिएर राप्रपा पर्ख र हेरकाे नीतिमा रहेकाे राप्रपा प्रवक्ता माेहन श्रेष्ठले बताए। परिवर्तित परिस्थितिबारे पार्टीमा अनाैपचारिक छलफल भइरहेकाे उनकाे भनाइ छ।

‘बदलिँदो राजनीतिक परिस्थिति, सत्ता समीकरण र समग्र घटनाक्रमलाई एकदम नजिकबाट नियालिरहेका छौं। परिवर्तित परिस्थितिबारे पार्टीमा अनौपचारिक छलफल भइरहेको छ। बैठक बस्नुपर्ने भयो भने बसिहाल्छौं। नयाँ बन्न लागेको सरकारमा सहभागिताको विषयमा औपचारिक, अनौपचारिक संवाद हुनु राजनीतिमा स्वभाविक प्रक्रिया हो तर कुनै प्रस्ताव आएको छैन। हामी पर्ख र हेरको नीतिमा छौं,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले देश सन्चारसँगकाे कुराकानीमा भने।

कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति साेमबार मध्यरातमा भएको छ।

दुई दलका दोस्रो तहका नेताहरुले राति नै लिखित सहमतिको मस्यौदा पनि तयार गरेका छन्।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।