सामाजिक संजाल:

भ्रमपूर्ण सूचनाले नागरिकमा नकारात्मक असर पुर्‍याईरहेको हुन्छ: नगरप्रमुख ढकाल

असार १६, २०८१

असार १६, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले समाज तथा राष्ट्र रुपान्तरणका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल सुर्खेत शाखाले आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले पत्रकारिताका माध्यमबाटै सत्य, तथ्य सूचना सम्प्रेषण नगरिँदा नागरिक समक्ष पुग्ने भ्रमित संदेशबाट गलत तत्वहरुले प्रश्रय पाउने जनाउनु भयो ।

उहाँले कुनैपनि तह, तप्काबाट गरिने गलत कार्यलाई खबरदारी गर्दै नागरिकलाई सत्य, तथ्य सूचना सम्प्रेषण गरेर समाज तथा राष्ट्रका लागि योगदान पु¥याउन पत्रकारहरुसँग अपिल गर्नु भयो । ‘समृद्धिको जग नै विकास पत्रकारिता हो,’ उहाँले भन्नु भयो, ‘विकासको अर्थ मान्छे र समाजलाई खुसी पार्ने हुनु पर्छ । मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन ।’ उहाँले पछिल्लो समय सूचना प्रविधिले मारेको फड्कोलाई गलत तरिकाले उपयोग गर्दै मूल्यहिन, कपोकल्पित र भ्रामक सूचना प्रवाह गर्नबाट पत्रकारहरु बच्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा प्रेस चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचन लक्षित तयारीसँगै श्रमजीवि पत्रकारले भोग्नु परिरहेका समस्याप्रति आफुहरु गम्भिर रहेको बताउनु भयो । उहाँले नेपाल पत्रकार महासंघले गैरपत्रकारहरुलाई प्रश्रय दिएर वास्तविक श्रमजीवि पत्रकारलाई उपेक्षित गर्दै आईरहेकाले श्रमजीवि पत्रकारकहरु एकजुट हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अगुवा पत्रकारहरुले संगठनको गरिमालाई उच्च बनाउँदै श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकारका लागि आवाज बुलन्द गर्न आवश्यक रहेको औल्याउनु भयो ।