
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका पछिल्लो अभिव्यक्तिले आफैंलाई गिज्याइरहेको टिप्पणी गरेका छन् ।
उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको प्रमुख सचेतक बर्तौलाको भनाई थियो ।
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर साहको दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने समेत बताए ।
प्रमुख सचेतक बर्तौलाले मेयर साहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौती दिने गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर साहलाई सचेत गराए ।
प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनैपनि व्यक्तिले चुनौती दिन नमिल्ने पनि बताए ।