सामाजिक संजाल:

उपाध्यक्ष अल्किना बम (वविता): ‘छाउगोठ होइन, छाउ मानसिकता भत्काउनुपर्छ’

असार २५, २०८३

कालिकोट। सरकारले छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको छ। तर, केवल गोठ भत्काउँदैमा शताब्दीयौँदेखि समाजमा जरा गाडेको छाउपडी प्रथा अन्त्य नहुने धारणा व्यक्त गरेकी छन् ।  उपाध्यक्ष अल्किना बम (वविता) ले।
उनले आफ्नो लेखमार्फत छाउपडीको मूल समस्या भौतिक संरचनाभन्दा पनि समाजमा गहिरो रूपमा बसेको अन्धविश्वास र विभेदकारी मानसिकता रहेको उल्लेख गरेकी छन्। उनका अनुसार गोठ भत्किए पनि सोच र व्यवहार नबदलिँदासम्म महिलाले सम्मान र सुरक्षासहित घरभित्र बस्न सक्ने अवस्था सिर्जना हुँदैन।
बमले छाउपडीलाई अपराध घोषणा गर्दै कानुनी व्यवस्था लागू भए पनि व्यवहारमा अपेक्षित परिवर्तन आउन नसकेको बताएकी छन्। ग्रामीण समाजमा अझै महिनावारीलाई अशुद्ध मान्ने, महिलालाई अलग राख्ने र विभेद गर्ने परम्परा कायम रहनुले कानुनको प्रभाव सीमित भएको उनको विश्लेषण छ।
उनका अनुसार छाउपडी अन्त्यका लागि प्रहरी प्रशासन, स्थानीय सरकार, विद्यालय, अभिभावक, धार्मिक अगुवा र समुदाय सबैको साझा भूमिका आवश्यक छ। चेतनामूलक अभियान, शिक्षा र सामाजिक रूपान्तरणलाई प्राथमिकता नदिई केवल छाउगोठ भत्काउने अभियानमा सीमित हुँदा यसको दीर्घकालीन उपलब्धि कमजोर हुने उनको भनाइ छ।
बमले छाउपडीविरुद्धको अभियानलाई केवल संरचना भत्काउने अभियानका रूपमा नभई समाजको सोच परिवर्तन गर्ने आन्दोलनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्। उनका अनुसार छाउगोठभन्दा पहिले छाउपडीलाई स्वीकार गर्ने मानसिकता भत्काउन सके मात्र महिलाले सुरक्षित, सम्मानजनक र समान अधिकारसहितको जीवन बाँच्न सक्ने वातावरण निर्माण हुने बताइन् ।