कालिकोट । सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारका रूपमा भरत बिक (शंकर) ले आफ्नो उम्मेदवारी अघि सारेका छन्। उनले गाउँपालिकाको समग्र विकास, सुशासन तथा नागरिकको जीवनस्तर सुधारलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाउने बताएका छन्।
बिकले गाउँपालिकाका सबै वडामा समान विकास, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा, कृषि, पर्यटन र स्थानीय रोजगारी प्रवर्द्धन, पूर्वाधार विकाससँगै पारदर्शी र जवाफदेही स्थानीय शासनलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्।
उनले सान्नीत्रिवेणी गाउँपालिकालाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्यसहित जनताको साथ र समर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।
“समृद्ध सान्नीत्रिवेणी, सुखी सान्नीत्रिवेणीवासी” भन्ने नारासहित चुनावी मैदानमा प्रस्तुत भएका बिकले आफूलाई अत्यधिक बहुमतले विजयी गराउन मतदातासमक्ष अपिलसमेत गरेका छन्।
बिकले कृषि तथा पर्यटन क्षेत्रको विकासमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, पूर्वाधारलाई प्राथमिकताका साथ अघि बढाउने तथा गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाएका छन्।