सामाजिक संजाल:

रास्कोटमा इलाका प्रशासन कार्यालयबाट सेवा सुचारू, चार पालिकाका ५० हजार नागरिक लाभान्वित

बैशाख ७, २०८३


कालीकोट — रास्कोट नगरपालिकामा सोमबारदेखि इलाका प्रशासन कार्यालयमार्फत नागरिक सेवा प्रवाह औपचारिक रूपमा सुरु भएको छ। यससँगै स्थानीय नागरिकले जिल्ला सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
जिल्ला प्रशासन कार्यालय कालीकोटबाट विगतदेखि उपलब्ध हुँदै आएका नागरिकता, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन, कार्ड वितरण लगायतका सेवाहरू अब रास्कोटमै सहज रूपमा उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए।
उनका अनुसार रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका सेवाग्राहीहरूले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लगायतका प्रशासनिक सेवा इलाका प्रशासन कार्यालय रास्कोटबाटै लिन सक्नेछन्।
नगर प्रमुख धर्मराज शाहीले नागरिकलाई सहज, छिटो र पहुँचयोग्य सेवा दिन इलाका प्रशासन कार्यालय विस्तार गरिएको बताए। लामो समयदेखि स्थानीयले उठाउँदै आएको माग पूरा भएको भन्दै उनले खुसी व्यक्त गरे।
“यहाँ इलाका प्रशासन कार्यालय राखेर सेवा पाउनुपर्छ भनेर धेरै पहिलेदेखि माग गरिरहेका थियौँ, त्यो माग पूरा भएको छ,” उनले भने, “अब यस क्षेत्रका नागरिकलाई नापी, मालपोत लगायतका अन्य समस्या समाधानमा पनि सहज हुनेछ।”
संघीय सांसद महेन्द्रबहादुर शाहीले रास्कोटमै इलाका प्रशासन कार्यालय स्थापना हुनु ऐतिहासिक उपलब्धि भएको बताए। उनले यसका लागि लामो समयदेखि पहल हुँदै आएको उल्लेख गर्दै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
रास्कोट–३ का कर्ण कुमालले विशेषगरी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई सदरमुकाम पुग्न निकै कठिन हुने गरेको बताउँदै अब गाउँमै सेवा पाइने भएपछि ठूलो राहत मिलेको प्रतिक्रिया दिए।
इलाका प्रशासन कार्यालयका लागि कामु शाखा अधिकृत नवराज बमको नेतृत्वमा कर्मचारी खटाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार यस कार्यालयबाट चार पालिकाका करिब ५० हजार नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।