सामाजिक संजाल:

कालिकोट जिल्ला अस्पतालमा ३ वर्षीया बालिकाको कुहिनोको सफल शल्यक्रिया

भदौ १५, २०८३

कालिकोट । कालिकोट जिल्ला अस्पतालमा ३ वर्षीया बालिकाको कुहिनोको हड्डी भाँचिएको अवस्थामा सफलतापूर्वक शल्यक्रिया गरिएको छ।
तिलागुफा नगरपालिका वडा नम्बर ६ निवासी ३ वर्षीया बालिकाको कुहिनोको हड्डी भाँचिएपछि जिल्ला अस्पताल कालिकोटमा सफल शल्यक्रिया गरिएको हो।
बालिकाको शल्यक्रिया हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. सागर ढकालले गर्नुभएको थियो। शल्यक्रियाका क्रममा एनेस्थेसिया सहायक विकास न्यौपाने र स्क्रब नर्स कविता शाहीले सहयोग गर्नुभएको थियो।
जिल्ला अस्पतालमै जटिल प्रकृतिको हड्डीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुनु कालिकोटवासीका लागि खुसीको विषय बनेको छ। यसअघि यस्ता जटिल प्रकृतिका हाडजोर्नीसम्बन्धी शल्यक्रियाका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था रहने गरेको थियो।
कालिकोट जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. रत्नवीर सुनारले अस्पतालमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुँदै गएपछि जटिल प्रकृतिका बिरामीले समेत जिल्लामै उपचार पाउन थालेको बताउनुभयो।
जिल्ला अस्पतालमा स्वास्थ्य सेवा विस्तारसँगै जटिल प्रकृतिका शल्यक्रियासमेत सफलतापूर्वक हुन थालेपछि स्थानीय नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाप्रति विश्वास बढ्दै गएको छ।