सामाजिक संजाल:

खाँडाचक्रको लुवारेकोट : इतिहास, संस्कृति र पहिचानको केन्द्र

असार ३, २०८३

खाँडाचक्रको लुवारेकोट : इतिहास, संस्कृति र पहिचानको केन्द्र
रमेश सुनार
मान्म, कालिकोट । खाँडाचक्र नगरपालिका–१ मान्ममा रहेको लुवारेकोटको इतिहासलाई लिएर स्थानीय स्तरमा पुनः बहस सुरु भएको छ। स्थानीय इतिहास र वंशावलीको आधार प्रस्तुत गर्दै लक्षिराम विकले सामाजिक सञ्जाल फेसबुकमार्फत लुवारेकोट कुनै ‘लभ पार्क’ नभई लुवार समुदायको ऐतिहासिक दरबार तथा सभास्थल भएको दाबी गरेका छन्।
विकका अनुसार लुवारेकोटमा लुवार समुदायका प्रथम पुर्खा शान्ति लुवारले राज्य सञ्चालन गरेका थिए। शान्ति लुवारका छोरा देवराज लुवार र देवराजका छोरा जगे, जिउने तथा लाटाले पनि उक्त क्षेत्रमा शासन गरेको स्थानीय जनश्रुति रहेको उनको भनाइ छ।
उनले लुवारेकोटको तलतिर लुवार समुदायको बाक्लो बस्ती रहेको तथा हालको जिल्ला अदालत र जिल्ला समन्वय समितिको क्षेत्र आसपास उनीहरूको बसोबास रहेको उल्लेख गरेका छन्। लुवारेकोटको अग्लो ढुंगामा बसेर कचहरी, बैठक तथा राज्य सञ्चालनसम्बन्धी छलफल गरिने र वरिपरि घोडा बाँध्ने प्रचलन रहेको जनविश्वाससमेत उनले सार्वजनिक गरेका छन्।
कथनअनुसार पश्चिमतर्फ रहेको कोटदरबार क्षेत्रमा मलैबम्म राजा, चक्रध्वज र कुबेर बर्माको शासन थियो। लुवारहरूको सीप, कला र योगदानबाट प्रभावित भएर मलैबम्म राजाले आफ्नी रानीलाई ‘अधेका सरुकाँडे लुवारकी लुवारी’ को पदवी दिएको उल्लेख गरिएको छ।
इतिहासमा पछि दैलेख–दुल्लुका बलिबम्म राजा आएपछि लुवार र मलैबम्म राजाबीच फूट उत्पन्न भएको र त्यसपछि भएको संघर्षमा लुवार समुदायमाथि ठूलो अत्याचार भएको जनश्रुति रहेको विकले लेखेका छन्। उक्त घटनामा धेरै लुवारको मृत्यु भएको र हालको जिल्ला समन्वय समितिको मैदान क्षेत्रलाई ‘लासपाटो’ भनिनुको कारण पनि त्यही घटना रहेको स्थानीय कथन छ।
घटनापछि जगे, जिउने र लाटा लुवार मात्र जीवित बच्न सफल भएको तथा उनीहरूका सन्तान विभिन्न स्थानमा फैलिँदै हालसम्म पुगेको वंशावलीसमेत विकले उल्लेख गरेका छन्।
लक्षिराम विकले लुवारेकोटलाई ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने माग गर्दै पछिल्ला वर्षहरूमा यस क्षेत्रलाई ‘लभ पार्क’ नाम दिइनु इतिहासमाथिको अन्याय भएको बताएका छन्।
“लभ पार्क होइन, लुवारेकोट नै यसको वास्तविक पहिचान हो। यसको इतिहास जोगाउन सबैले पहल गर्नुपर्छ,” उनले फेसबुकमार्फत लेखेका छन्।
स्थानीय तह वा सम्बन्धित निकायले भने लुवारेकोटको इतिहासबारे आधिकारिक अध्ययन तथा अनुसन्धान सार्वजनिक गरिसकेका छैनन्। यद्यपि स्थानीय समुदायले पुस्तौंदेखि सुनाउँदै आएको जनश्रुति र वंशावलीका आधारमा लुवारेकोटको ऐतिहासिक महत्वबारे चासो बढ्दै गएको छ।