कालिकोट, जेठ २२ — कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–४ मा रहेको श्री नैनेलदेव आधारभूत विद्यालयकी प्रधानाध्यापक दानकला शाही कर्णाली प्रदेशस्तरीय उत्कृष्ट शिक्षक पुरस्कार बाट सम्मानित हुनुभएको छ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेत द्वारा आयोजित “उत्कृष्ट शिक्षक पुरस्कार वितरण कार्यक्रम” मा उहाँलाई उत्कृष्ट शिक्षकका रूपमा छनोट गरी सम्मान गरिएको हो।
शिक्षण पेशामा लामो समयदेखि समर्पित रहँदै विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा विद्यालय व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएबापत शाहीलाई उक्त पुरस्कार प्रदान गरिएको बताइएको छ।
जेठ २२ गते शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित सम्मान ग्रहण गर्दै शाहीले प्राप्त सम्मानले थप जिम्मेवारी र उत्साह बढाएको बताउनुभयो।
उहाँको यो उपलब्धिले शुभकालिका गाउँपालिका मात्र नभई समग्र कालिकोट जिल्लाको शिक्षा क्षेत्रलाई गौरवान्वित बनाएको स्थानीयवासी तथा शिक्षा सरोकारवालाहरूले बताएका छन्।