सामाजिक संजाल:

पूर्वाधार विकासमा नयाँ उपलब्धि, भर्तागाडपुल समयअघि सम्पन्न

जेष्ठ १७, २०८३

कालिकोट । शुभकालिका गाउँपालिका अन्तर्गत भर्तागाडको रिगीखोलामा २५ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। निर्धारित समयसीमाभन्दा अगावै निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएपछि स्थानीयवासीमा खुसीको लहर छाएको छ।
वर्षौंदेखि जोखिमपूर्ण आवतजावत गर्न बाध्य स्थानीय नागरिकका लागि पुल निर्माणले ठूलो राहत दिएको छ। पुल सञ्चालनमा आएसँगै यातायात पहुँच सहज भएको छ भने व्यापार व्यवसाय, कृषि उपज ढुवानी तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पूर्वाधार विकास कार्यालय कालिकोटमार्फत सञ्चालित उक्त आयोजनाको निर्माण जिम्मेवारी तमाकोशी डाइमण्ड जेभीले पाएको थियो। कर्णाली प्रदेशका धेरै विकास आयोजनाहरू निर्माण कम्पनीहरूको ढिलासुस्तीका कारण अलपत्र परिरहेका बेला डाइमण्ड निर्माण कम्पनीले भने निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न गरेर उदाहरणीय काम गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन्।
निर्माण कम्पनीका सञ्चालक कमल शाही ले भौगोलिक विकटता, ढुवानीको कठिनाइ र बढ्दो महँगीका बाबजुद पनि गुणस्तरीय रूपमा पुल निर्माण सम्पन्न गरिएको बताए। “चुनौती धेरै थिए, तर हामीले कार्यालयले दिएको समयसीमाभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ निरन्तर मेहनत गर्‍यौं,” उनले भने।
स्थानीय जनप्रतिनिधिहरूले पनि पुल निर्माणले गाउँपालिका तथा आसपासका क्षेत्रबीचको सम्बन्ध थप मजबुत बनाउने र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
स्थानीयका अनुसार वर्षायाममा रिगीखोला तर्न निकै कठिन हुने गरेकाले पुल निर्माणसँगै आवतजावतको पुरानो समस्या समाधान भएको छ। अब विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारण नागरिकले सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्ने भएका छन्।