काठमाडौं । नेकपा एमालेले शनिबार बस्ने सचिवालय बैठकमार्फत केन्द्रीय नेताहरुको कार्यविभाजन टुंग्याउने तयारी गरेको छ । बैठकमा विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला इञ्चार्ज, प्रवास र जनसंगठनका जिम्मेवारीसमेत निर्धारण गरिने जनाइएको छ
एमालेका महासचिव शंकर पोखरेलका अनुसार ११औँ महाधिवेशनपछि राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनको व्यस्तताका कारण कार्यविभाजन प्रक्रिया लम्बिएको थियो । त्यसपछि उत्पन्न विभिन्न राजनीतिक र व्यक्तिगत परिस्थितिका कारण पनि निर्णयमा ढिलाइ भएको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बस्ने बैठक भक्तपुरको गुण्डुस्थित निवासमा आयोजना हुने तय भएको छ । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सुझावका आधारमा जिम्मेवारी बाँडफाँट सम्बन्धी प्रस्ताव पेश गरिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ ।