सामाजिक संजाल:

“अब सामाजिक सञ्जालमा होइन, संसदमा परिणाम देखिनुपर्छ” सांसद हिम्मत विष्ट

बैशाख ३०, २०८३

कर्णाली प्रदेशसभा सदस्य हिम्मत विष्टले कर्णाली राजमार्गको दुरावस्था र यसको सुधारका लागि जनप्रतिनिधिहरूले संयुक्त रूपमा भूमिका खेल्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद विष्टले प्रतिनिधिसभा सदस्य आसिका तामाङलाई कर्णाली राजमार्गको विषय स्मरण गराएका हुन्। उनले निर्वाचनअघि अपर कर्णाली भ्रमणका क्रममा आसिका तामाङले कर्णाली राजमार्गको खराब अवस्था र गुणस्तरहीन पिचबारे सामाजिक सञ्जालमा पोस्ट गरेको प्रसंग उल्लेख गरेका छन्।
त्यतिबेला एक समाजसेवीको रूपमा गरिएको उक्त आवाजलाई कर्णालीबासीले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै अहिले उहाँ स्वयं जनप्रतिनिधि र सरकार पक्षको सांसद भएकाले सडक सुधारमा प्रभावकारी भूमिका खेल्न सक्ने अपेक्षा गरिएको सांसद विष्टको भनाइ छ।
उनले कर्णाली राजमार्ग तथा कर्णाली करिडोरको अवस्था सुधारका लागि आफूले प्रदेशसभामा पटक–पटक आवाज उठाएको, सार्वजनिक महत्वका प्रस्ताव दर्ता गरेको तथा सरकारलाई निरन्तर दबाब दिँदै आएको पनि बताएका छन्। त्यसको परिणामस्वरूप केही काम अघि बढेको दाबी गर्दै उनले अझ प्रभावकारी सुधारका लागि संघ र प्रदेशका जनप्रतिनिधिबीच समन्वय र संयुक्त पहल आवश्यक रहेको उल्लेख गरेका छन्।
“जनताले अब सामाजिक सञ्जालका पोस्ट होइन, सडकमा देखिने परिणाम खोजिरहेका छन्,” सांसद विष्टले लेखेका छन्। उनले कर्णालीबासीले दैनिक भोगिरहेको सडक सास्ती अन्त्य गर्न सबै जनप्रतिनिधि एकजुट हुनुपर्नेमा जोड दिएका छन्।