कालीकोट — स्वास्थ्य सेवा कार्यालय कालीकोटले आफ्नो दैनिक प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउँदै आजबाट विद्युतीय हाजिरी (E–Attendance) प्रणाली सुरु गरेको छ । कार्यालयको अनुशासन कायम गर्न तथा कर्मचारीहरूको उपस्थितिलाई पारदर्शी र व्यवस्थित बनाउन उक्त प्रणाली लागू गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका व्यवस्थापक डाः रत्नवीर सुनारले जानकारी दिनुभयो ।
विद्युतीय हाजिरी प्रणालीको सुरुवातसँगै अब कार्यालयमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ तथा प्रशासनिक कर्मचारीहरूले डिजिटल माध्यमबाट आफ्नो हाजिरी जनाउनुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा जनशक्ति समयमै उपस्थित हुनु अत्यन्त आवश्यक भएकाले नयाँ प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
डाः सुनारका अनुसार विद्युतीय हाजिरी प्रणालीले कर्मचारीमा उत्तरदायित्व, अनुशासन र कार्यक्षमता अभिवृद्धि गर्नुका साथै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ । यसबाट सेवाग्राहीले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा पारदर्शिता र सुशासन कायम गर्ने उद्देश्यका साथ आगामी दिनमा थप प्रविधिमैत्री सेवाहरू विस्तार गर्ने तयारी समेत गरेको डा: सुनारले बताए ।