कालीकोट — तिलागुफा नगरपालिकामा ‘एक घर, एक चुलो’ अभियान अन्तर्गत सुधारिएको चुलो वितरण कार्य सम्पन्न भएको छ। घरभित्र खाना पकाउँदा निस्कने धुवाँबाट विशेषगरी महिलाहरूको स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले यो अभियान सञ्चालन गरेको हो।
तिलागुफा नगरपालिकाको साझेदारी, वैकल्पिक ऊर्जा केन्द्र तथा जलवायु संरक्षणका लागि कर्णाली उत्थानशील अभियान नेपाल (कृन) को समन्वयमा नगरपालिकाभित्रका घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो। वडा नं. ७ बालिमा आयोजित वितरण कार्यक्रममा नगर प्रमुख शंकरप्रसाद उपाध्यायले विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा तीव्र रूपमा देखिन थालेको बताउनुभयो।
उहाँले बढ्दो हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्दै वातावरण संरक्षण गर्नु अहिलेको राष्ट्रिय चुनौती बनेको उल्लेख गर्दै कालीकोटमा स्थानीय तह र विभिन्न संघसंस्थाहरूको सक्रियतामा जलवायु संरक्षणका ठोस प्रयासहरू सुरु भएको बताउनुभयो।
टि.डि.एच. (TDH) जर्मनीको आर्थिक सहयोग र सहास नेपालको प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनालाई कर्णाली उत्थानशील अभियान नेपाल (कृन), कालीकोटले तिलागुफा नगरपालिका सँगको समन्वयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। हाल वडा नं. ६, ७ र ८ मा चुलो वितरण सम्पन्न भएको छ।
परियोजना अन्तर्गत हालसम्म १ हजार २५ थान सुधारिएको चुलो वितरण गरिसकिएको छ। परम्परागत चुलोको तुलनामा यी सुधारिएका फलामका चुलोहरूले दाउराको खपत करिब ४० प्रतिशतसम्म कम गर्ने प्राविधिकहरूको दाबी छ।
नगर उपप्रमुख महेन्द्रबहादुर शाहीका अनुसार यसले वनजंगल संरक्षण, कार्बन उत्सर्जनमा कमी तथा भान्छाको धुवाँका कारण महिला र बालबालिकामा हुने श्वासप्रश्वास सम्बन्धी रोग न्यूनीकरणमा ठूलो सहयोग पुग्नेछ।
परियोजना अन्तर्गत तिलागुफा नगरपालिकामा ५ सय पानी फिल्टर वितरण गर्ने लक्ष्य समेत राखिएको छ। साथै, (कृन) का अध्यक्ष परेक शाहीले महिलाहरूको कार्यबोझ घटाउने, समय बचत गर्ने तथा स्थानीय बासिन्दाको आर्थिक अवस्था सुदृढ बनाउन आयआर्जन सम्बन्धी तालिम, बालक्लब, महिला समूह र युवा समूहसँग सम्बन्धित कार्यक्रमहरू पनि निरन्तर सञ्चालन भइरहेको जानकारी दिनुभयो।
स्थानीय सरकार र कर्णाली उत्थानशील अभियान नेपाल (कृन) को संयुक्त प्रयासले कर्णालीमा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न र हरित तथा स्वस्थ समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।