कालिकोट — खाडाचक्र नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा स्वास्थ्य चौकी दाहामा क्षयरोगी सक्रिय खोजपड्ताल कार्यक्रम अन्तर्गत क्षयरोग सम्बन्धी अभिमुखीकरण तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, युवा क्लब, ज्येष्ठ नागरिक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आगामी मिति २०८३ साल वैशाख १५ गतेदेखि १७ गतेसम्म नगरपालिकाभित्र सञ्चालन हुने क्षयरोगी सक्रिय खोजपड्ताल शिविरलाई प्रभावकारी बनाउन अभिमुखीकरण तथा जनचेतनामूलक प्रचारप्रसार गरिएको हो।
स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले क्षयरोग समयमै पहिचान र उपचार गर्न सके पूर्ण रूपमा निको हुने भएकाले समुदायस्तरमै सक्रिय खोजपड्ताल आवश्यक रहेको बताउनुभयो। उहाँले सबै नागरिकलाई शंकास्पद लक्षण देखिएमा स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गर्दै अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
नगरपालिकाले क्षयरोग नियन्त्रण तथा जनस्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।