कालिकोट, २ वैशाख — नरहरीनाथ गाउँपालिका मा ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही गाउँपालिकाका एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोट का अनुसार नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते राति करिब ११:२० बजेतिर नरहरीनाथ गाउँपालिका–३ बस्ने ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो। बालिका आफ्नै घरमा रहेको अवस्थामा सोही गाउँपालिकाको वडा नम्बर ४ का एक युवकले करणी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
घटनाबारे कुमालगाउँ स्थित इलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रकबिर के.सी.को कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले घटनामा संलग्न भनिएका युवकलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ।
पीडित बालिकालाई प्रारम्भिक उपचारका लागि नरहरीनाथ आधारभूत अस्पताल कुमालगाउँ लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप जाँच र उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश ज्ञावलीका अनुसार हाल पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनामा संलग्न आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाले स्थानीय स्तरमा सुरक्षा र बालअधिकारको विषयमा चिन्ता बढाएको छ