कालिकोट — जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको एम्बुलेन्स कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ स्थित मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला अस्पताल कालिकोटका अनुसार दुर्घटनामा परी हिमा गाउँपालिका–६ का भिमराज अधिकारी र सोही गाउँपालिका–७ का २६ वर्षीय शक्ति शाहीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका हिमा गाउँपालिका–७ का लोकन्द्र शाही र वडा नं. ६ का कल ब अधिकारीलाई स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ।
जुम्लाको हिमा गाउँपालिकाको एम्बुलेन्स सुर्खेत–जुम्ला राजमार्ग अन्तर्गत कालिकोट खण्डमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।