कालिकोट — जिल्ला अस्पताल कालिकोटमा जटिल अवस्थाकी २९ वर्षीया गर्भवती महिलाको आकस्मिक शल्यक्रियामार्फत सफल प्रसूति गराइएको छ।
रास्कोट नगरपालिका–९ फुकोटकी मिमसरा तिरुवालाई प्रसूति समस्या देखिएपछि रास्कोट अस्पतालबाट जिल्ला अस्पताल कालिकोटमा रिफर गरिएको थियो। बच्चा जन्मिने मिति १० दिन कटिसक्दा पनि ब्यथा चलेपछि पाठेघरको मुख नखुलेको अवस्थामा रहेकाले शल्यक्रिया गर्नुपरेको अस्पतालका डाक्टर दर्शनराज पाण्डेले जानकारी दिनुभयो।
भिडियो एक्सरेपछि जटिलता देखिएकाले शनिबार आकस्मिक शल्यक्रिया गरिएको थियो। शल्यक्रियाका क्रममा बच्चाको घाँटीमा नाल बेरिएको, पेटभित्रै बच्चाले दिशा गरेको र सालमा रगत जमेको अवस्था भेटिएको डा. पाण्डेले बताउनुभयो।
समयमै गरिएको शल्यक्रियाका कारण आमा र शिशु दुवै सुरक्षित रहेको अस्पतालले जनाएको छ।