सामाजिक संजाल:

सिँचाइ कुलो बनेपछि किसान उत्साहित

चैत्र २०, २०८२


रमेश सुनार,कालिकोट
जुम्ला जिल्लाको तिला गाउँपालिका–२ मा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएको छ। लामो समयदेखि प्रतिक्षामा रहेको उक्त योजना सम्पन्न भएपछि स्थानीय किसानहरू खुशी भएका छन्।
सुन्नाली पुस्ताराम सहकारी संस्था (LISP) र तिला गाउँपालिकाको सहकार्यमा कुलो निर्माण गरिएको हो। कुलो निर्माण सम्पन्न भएसँगै स्थानीय किसानहरूलाई सिँचाइमा सहजता भएको छ। यसअघि वर्षायाममा मात्रै खेती सम्भव हुने क्षेत्रमा अब नियमित सिँचाइको सुविधा पुगेको स्थानीयवासीले बताएका छन्।
कुलो निर्माणपछि करिब ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। यसबाट किसानहरूलाई उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै खेतीपातीमा लगानी बढ्दै जाने र कृषकहरूको आयआर्जनमा समेत सुधार आउने विश्वास गरिएको छ।
स्थानीय किसानहरूका अनुसार कुलो अभावका कारण विगतमा खेती गर्न निकै समस्या हुने गरेको थियो। अब भने सिँचाइ सुविधा उपलब्ध भएपछि कृषि उत्पादनमा सकारात्मक परिवर्तन आउने उनीहरूको भनाइ छ।
योजना निर्माणपछि गाउँमा कृषिमा आधारित गतिविधि बढ्ने अपेक्षा गरिएको छ। स्थानीय सरकारले पनि कृषिलाई प्राथमिकतामा राख्दै यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिने जनाएको छ।
स्थानीयवासीहरूले यस्ता विकास निर्माणका कामले गाउँको उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता योजनाहरू निरन्तर सञ्चालन गर्न स्थानीय सरकारसँग माग गरेका छन्।