कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ४ मा आज अचानक परेको भीषण असिनाले स्थानीय किसानहरू मर्कामा परेका छन्। असिनाका कारण खेतबारीमा भित्र्याउन ठिक्क पारिएका बालीहरूमा ठूलो क्षति पुगेको छ।
स्थानीयका अनुसार लामो समयसम्म परेको असिनाले गहुँ, जौ तथा विभिन्न तरकारी बालीहरू भुइँमा ढालेको र बोटहरू समेत भाँचिएको छ। जसका कारण अधिकांश बाली पूर्ण रूपमा नष्ट भएको बताइएको छ।
स्थानीय किसान केशरे चौलागाईका अनुसार असिनापछि खेतबारीमा रहेको बाली झरेर क्षतिग्रस्त भएको छ। “भित्र्याउन तयार भएको बाली नै नष्ट भयो, वर्षभरिको मेहनत खेर जाने अवस्था आएको छ,” उहाँले भन्नुभयो।
असिनाका कारण उत्पादनमा ठूलो असर पर्ने भएपछि किसानहरू अहिले चिन्तित बनेका छन्। पीडित किसानहरूले सम्बन्धित निकायलाई क्षतिको अनुगमन गर्न आग्रह गर्दै राहत तथा क्षतिपूर्तिको माग गर्ने निर्णय गरेका छन्।
स्थानीय तहले क्षतिको विवरण संकलन गरी आवश्यक सहयोगका लागि पहल गर्नुपर्ने माग किसानहरूले गरेका छन् ।