सामाजिक संजाल:

कालिकोटमा ‘फुटबल फर स्कुल’ अन्तर्गत विद्यालयलाई २५ फुटबल सहयोग

चैत्र १२, २०८२

कालिकोट — दुर्गम जिल्लाका विद्यालयहरूमा खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘फुटबल फर स्कुल’ कार्यक्रम अन्तर्गत कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ स्थित श्री कालिका माध्यमिक विद्यालय, डाँडाखेतलाई खेलकुद सामग्री सहयोग प्रदान गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक सहयोग, FIFA को सहजीकरण तथा समाजसेवी पवन बम को समन्वयमा आयोजित कार्यक्रममा विद्यालयलाई २५ थान फुटबल हस्तान्तरण गरिएको हो। कार्यक्रम विद्यालय परिसरमै एक औपचारिक समारोहका बीच सम्पन्न गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रका बालबालिकाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै उनीहरूको समग्र व्यक्तित्व विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले फुटबलजस्तो लोकप्रिय खेलले अनुशासन, सहकार्य, नेतृत्व विकास तथा स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने बताएका थिए। उनीहरूले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा पर्याप्त खेल सामग्रीको अभाव हुने भएकाले यस्ता सहयोग कार्यक्रमहरू अत्यन्तै उपयोगी हुने धारणा राखेका थिए।

समन्वयकर्ता समाजसेवी पवन बमले ‘फुटबल फर स्कुल’ कार्यक्रमले विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे। उनले भने, “ग्रामीण भेगका धेरै प्रतिभाशाली बालबालिकाहरू अवसरको अभावका कारण पछाडि परिरहेका छन्। यस्ता कार्यक्रममार्फत उनीहरूलाई खेलकुदतर्फ आकर्षित गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।”

उनले आगामी दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने र अन्य विद्यालयहरूमा समेत कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले स्थानीय समुदाय, विद्यालय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

विद्यालयका प्रधानाध्यापकले प्राप्त खेल सामग्रीप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूमा नयाँ उत्साह थपिएको बताएका छन्। “हाम्रा विद्यार्थीहरूमा खेलकुदप्रति निकै रुचि भए पनि सामग्रीको अभाव थियो। अब प्राप्त फुटबलहरूले नियमित अभ्यास र प्रतिस्पर्धा सञ्चालन गर्न सहज हुने छ,” उनले बताए।

विद्यार्थीहरूले पनि नयाँ फुटबल प्राप्त गरेपछि खुसी व्यक्त गर्दै अब नियमित रूपमा खेल अभ्यास गर्ने बताएका छन्। उनीहरूले भविष्यमा राम्रो खेलाडी बन्ने चाहना व्यक्त गरेका थिए।

‘फुटबल फर स्कुल’ कार्यक्रम FIFA द्वारा विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको पहल हो, जसले विद्यालय तहमा फुटबलको पहुँच विस्तार गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। नेपालमा यस कार्यक्रमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत कार्यान्वयन गरिँदै आएको छ।

स्थानीय स्तरमा आयोजित यस्ता कार्यक्रमहरूले खेलकुदको माध्यमबाट सामाजिक एकता, स्वास्थ्य सुधार तथा सकारात्मक सोचको विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।