कालिकोट — सशक्त बालिका परियोजना (GSS) कार्यक्रम अन्तर्गत “सकारात्मक यौन शिक्षामा नागरिक समाज र सञ्चारकर्मीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्लान इन्टरनेशनल नेपाल को सहयोग, रास्कोट नगरपालिका को समन्वय तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम हुरेन्डेक नेपाल कालिकोटका जिल्ला व्यवस्थापक दिलिप कुमार शाही को अध्यक्षता तथा गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य कल्पना रावल बोगटी को आतिथ्यतामा सम्पन्न भएको थियो।
अन्तरक्रियामा जिल्लास्थित नागरिक समाजका प्रतिनिधि, विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सकारात्मक यौन शिक्षाको आवश्यकता, यसको प्रभावकारी प्रसार तथा समुदायमा सचेतना अभिवृद्धि गर्न नागरिक समाज र सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा मानव अधिकारकर्मी काली बहादुर मल्ल ले सकारात्मक यौन शिक्षासम्बन्धी प्रशिक्षण प्रदान गर्दै किशोर–किशोरीमा सही जानकारी, व्यवहार परिवर्तन र सुरक्षित भविष्यका लागि यौन शिक्षा अत्यन्त आवश्यक रहेको बताए।
कार्यक्रमका अध्यक्ष दिलिप कुमार शाहीले समाजमा यौन शिक्षाप्रति रहेका गलत धारणा हटाउँदै सचेतना फैलाउन नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।