कालीकोट — रास्कोट नगरपालिकामा सञ्चालन भइरहेको वार्षिक परीक्षाको अनुगमन गरिएको छ। आज मिति २०८२ चैत ५ गते नगर प्रमुख धर्मराज शाही ‘पोषण’ को नेतृत्वमा अनुगमन टोलीले विभिन्न विद्यालयमा पुगेर परीक्षा व्यवस्थापनको अवस्थाबारे निरीक्षण गरेको हो।
अनुगमन टोलीमा उप–प्रमुख मनिराज बराल, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ५ का अध्यक्ष मन तिरुवा, शिक्षा, युवा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत खेमराज शाही तथा नगर प्रहरी प्रमुखको सहभागिता रहेको थियो।
टोलीले वडिमालिका माध्यमिक विद्यालय, मोतिराम माध्यमिक विद्यालय, जनजागृति माध्यमिक विद्यालय र पिङ्गला आधारभूत विद्यालयमा पुगेर परीक्षा सञ्चालनको अवस्था, अनुशासन, प्रश्नपत्रको गोपनीयता तथा विद्यार्थीको सहभागिता जस्ता विषयमा अनुगमन गरेको जनाएको छ।
अनुगमनका क्रममा नगर प्रमुख धर्मराज शाहीले परीक्षा प्रणालीलाई निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। शाहिले भने, “परीक्षा केवल मूल्याङ्कनको माध्यम मात्र नभई विद्यार्थीको भविष्यसँग जोडिएको संवेदनशील प्रक्रिया हो। त्यसैले कुनै पनि किसिमको लापरबाही हुन दिनुहुँदैन।”
शाहिले शिक्षक, कर्मचारी र सुरक्षाकर्मीलाई आफ्नो भूमिकाप्रति सचेत रहन आग्रह गर्दै पारदर्शी र व्यवस्थित परीक्षा सञ्चालनमा जोड दिएका छन्।
अनुगमन टोलीले परीक्षालाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन आवश्यक सुझाव तथा सल्लाहसमेत दिएको छ।