कालीकोट, चैत २ गते । कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको रास्कोट नगरपालिका–८, बाँखरकोटका अन्दाजी ५० वर्षीय मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।
स्थानीयका अनुसार बराल डिलचाखा भन्ने वनमा बाख्रा चराउन गएका बेला अचानक विद्युतको तार शरीरमा छोइएपछि करेन्ट लागेको हो। करेन्ट लागेपछि गम्भीर घाइते भएका बरालको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
स्थानीय कमलप्रसाद बरालका अनुसार करेन्ट लागेको जानकारी पाएपछि उनले विद्युत् हाउसमा फोन गरी बत्ती बन्द गरिदिन अनुरोध गरेका थिए। तर त्यतिबेलासम्म बरालको ज्यान गइसकेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले करेन्ट लागेर एक जनाको मृत्यु भएको खबर प्राप्त भएको र घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिए।