सामाजिक संजाल:

शुभकालिका–५ मा १५ लाखको खेलमैदान निर्माण सम्पन्न

असार १८, २०८३

कालिकोट, असार १८ — कालिकोटको शुभकालिका गाउँपालिका–५ मा गाउँपालिका स्तरीय खेलमैदान निर्माण सम्पन्न भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ बजेटमा निर्माण गरिएको खेलमैदान अब गाउँपालिकाका विभिन्न खेलकुद गतिविधिको केन्द्र बन्ने भएको छ।

निर्माण सम्पन्न खेलमैदानको अनुगमन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का इन्जिनियर सिरसिर कार्की, शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईं लगायतले गरेका छन्।
अनुगमनका क्रममा इन्जिनियर कार्कीले निर्माण कार्य मापदण्डअनुसार सम्पन्न भएको बताए। प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले खेलमैदानले स्थानीय खेलाडीलाई अभ्यास र प्रतियोगिता सञ्चालनमा सहजता प्रदान गर्ने उल्लेख गरे।
उपभोक्ता समितिका अध्यक्ष रतन ब. शाहीले स्थानीयको सहयोगमा योजना सफलतापूर्वक सम्पन्न भएको बताए भने वडा अध्यक्ष मिम ब. शाहीले खेलमैदानले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा एमाले कर्णाली प्रदेश सदस्य कृष्णप्रसाद आचार्य र स्थानीय थिर ब. शाहीले खेलकुद पूर्वाधार निर्माणले गाउँमा खेल संस्कृतिको विकास हुने धारणा राखेका थिए।
खेलमैदान निर्माण सम्पन्न भएसँगै अब गाउँपालिका स्तरीय खेलकुद कार्यक्रम यही मैदानमा सञ्चालन गरिने जनाइएको छ।