सामाजिक संजाल:

“दलित विद्यार्थीको शिक्षामा शुभकालिकाको साथ : ८० जनालाई शैक्षिक सामग्री र पोशाक वितरण”

असार १९, २०८३

कालिकोट, असार १९ — कालिकोटको शुभकालिका गाउँपालिका–४ सुन्दरटोलस्थित कुलदेव आधारभूत विद्यालयका ८० जना विद्यार्थीलाई दलित लक्षित विशेष कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।
शुभकालिका गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई कापी, डटपेन, झोला तथा विद्यालय ड्रेस वितरण गरिएको हो। आर्थिक रूपमा कमजोर तथा दलित समुदायका बालबालिकाको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबिरे सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धर्मकला शाही प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। कार्यक्रममा कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक पपेन्द्र विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईं, लक्षित वर्ग विशेष कार्यक्रमका सदस्य सचिव वीरेन्द्रबहादुर शाही लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शाहीले शिक्षा नै सामाजिक रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै दलित समुदायका बालबालिकाको शैक्षिक स्तर उकास्न गाउँपालिका प्रतिबद्ध रहेको बताइन्। उनले लक्षित वर्गका नागरिकको जीवनस्तर सुधारमा शिक्षा महत्वपूर्ण माध्यम भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिइन्।
सामाजिक विकास समिति संयोजक पपेन्द्र विश्वकर्माले दलित समुदायका बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्दै नियमित अध्ययनमा जोड्न कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गरे। “शिक्षा नै समुदायको विकास र सशक्तीकरणको आधार हो। दलित बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएका हुन्,” बिपिले भने।
लक्षित वर्ग विशेष कार्यक्रमका सदस्य सचिव वीरेन्द्रबहादुर शाहीले दलित तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको अवसरबाट वञ्चित हुन नदिन गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले शैक्षिक सामग्री वितरणले विद्यार्थीको पढाइप्रति थप उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै लक्षित वर्ग केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै यस्ता गतिविधिले विद्यार्थीको मनोबल वृद्धि गर्नुका साथै विद्यालयमा नियमित उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने बताए।कार्यक्रमका अध्यक्ष दलबिरे सुनारले हाम्राेविद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर अध्ययनमा थप प्रेरणा प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरे।स्थानीय अभिभावकहरूले समेत कार्यक्रमबाट आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई राहत पुगेको प्रतिक्रिया दिएका छन्। कार्यक्रमबाट कुलदेव आधारभूत विद्यालयका ८० जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।