कालिकोट — तिलागुफा नगरपालिकाले उच्च जोखिममा रहेका ११५ जना बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ। नगरपालिकाको बालहित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले प्रभावित बालबालिकाहरूलाई राहतस्वरूप सामग्री प्रदान गरिएको हो।
नगर प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा बालबालिकाहरूलाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख उपाध्यायले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
उहाँले भन्नुभयो, “बालहित कोषमार्फत जोखिममा रहेका बालबालिकाहरूलाई आवश्यक सहयोग उपलब्ध गराइएको हो। नागरिकको दुःख र अप्ठ्यारोमा स्थानीय सरकार सधैं साथमा रहनेछ। आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
कार्यक्रममा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न जोखिममा परेका बालबालिकालाई संरक्षण र सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढाउनुका साथै उनीहरूको शैक्षिक यात्रामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिकाका अनुसार बालहित कोषमार्फत आगामी दिनमा पनि आवश्यकतामा रहेका बालबालिका तथा विपन्न परिवारलाई लक्षित गरी विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गरिने उपमेयर शाहिले बताए ।