कालिकोट। जाजरकोटको भेरी नगरपालिका–१० को एक साधारण किसान परिवारमा जन्मिएकी पार्वती विक आज संघीय संसदसम्म पुग्ने नेतृत्वका रूपमा स्थापित भएकी छन्। जातीय विभेद र सामाजिक अन्यायको पीडा बाल्यकालदेखि भोगेकी विक अहिले त्यही विभेदविरुद्ध कानुन निर्माण गर्ने थलो संसदमा पुगेकी छन्।
सानैदेखि समाजमा दलित समुदायले भोग्दै आएको अपमान, अवसरको अभाव र असमान व्यवहार उनले नजिकबाट अनुभव गरिन्। त्यही अनुभवले उनलाई सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाउन प्रेरित गर्यो। विस्तारै उनी अधिकारको आन्दोलनमा सक्रिय बन्दै गइन्।
तत्कालीन माओवादी आन्दोलनले उठाएको सामाजिक समानता, सीमान्तकृत समुदायको उत्थान र न्यायको एजेन्डाले उनलाई राजनीतितर्फ आकर्षित गर्यो। त्यसपछि उनी दलित, महिला र उत्पीडित समुदायका मुद्दा उठाउने अभियानमा निरन्तर सक्रिय रहँदै आएकी छन्।
जाजरकोट जिल्लामा हुने जातीय विभेदका घटनामा पार्वती विक सधैं पीडित पक्षमा उभिने नेतृका रूपमा चिनिन्छिन्। विभेदविरुद्ध आवाज उठाउने, पीडित परिवारलाई न्याय दिलाउन पहल गर्ने तथा प्रशासनिक र कानुनी प्रक्रियामा साथ दिने काममा उनी अग्रसर रहँदै आएकी छन्।
रुकुम पश्चिमको सोती गाउँमा भएको नवराज विकसहित युवाहरूको सामूहिक हत्या पछि उठेको न्याय आन्दोलनमा पनि पार्वती विक अग्रपंक्तिमा देखिइन्। पीडित परिवारको पक्षमा आवाज उठाउँदै घटनालाई राष्ट्रिय बहसको विषय बनाउन उनले सक्रिय भूमिका निर्वाह गरिन्।
लामो समय सामाजिक न्यायका लागि सडक र आन्दोलनमा सक्रिय रहेकी पार्वती विकलाई नेकपाले समानुपातिक सांसदका रूपमा संघीय संसदमा पठाएको छ। उनको संसद यात्रा केवल व्यक्तिगत उपलब्धि मात्र नभई दलित समुदायको संघर्ष र प्रतिनिधित्वको प्रतीकका रूपमा पनि हेरिएको छ।
संसदमा पुगेपछि विकका सामु ठूलो जिम्मेवारी छ— जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुन निर्माण, दलित समुदायको अधिकार संरक्षण र सामाजिक न्याय सुनिश्चित गर्ने नीति निर्माण।
गाउँको साधारण किसान परिवारबाट सुरु भएको उनको यात्रा आज राष्ट्रिय राजनीतिसम्म पुगेको छ। अब संसदबाट उनले विभेदविरुद्ध कति प्रभावकारी आवाज उठाउँछिन् भन्ने चासो बढेको छ।