कालिकोट — नेकपा एमाले कालिकोटका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य नगेन्द्र शाही नेशनल ले एमाले सामूहिक नेतृत्वमा विश्वास गर्ने अनुशासित र सिद्धान्तनिष्ठ पार्टी भएको बताएका छन्।
उनले पार्टीका सबै तहका कमिटीहरू बहुपदिय प्रणाली अन्तर्गत सञ्चालनमा रहेको र हरेक जिम्मेवार कमरेडको भूमिका स्पष्ट रूपमा परिभाषित गरिएको उल्लेख गरे। आफ्नो जिम्मेवारीबाट पन्छिँदै केवल प्रियतावादी शैलीमा मिडियामार्फत नेता बन्न खोज्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउनेभन्दा पनि विपक्षीलाई अनावश्यक बल पुग्ने परिस्थिति सिर्जना गर्ने गरेको शाहिको भनाइ छ।
शाहीले नेतृत्वले कमजोरी गर्ला भनेर बाहिर उभिएर आलोचना मात्र गर्ने होइन, प्रत्येक तहका नेता–कार्यकर्ताले आफ्नो जिम्मेवारीभित्रका कमजोरीहरू आफैं पहिचान गरी सुधार गर्ने साहस र प्रतिबद्धता देखाउनु नै सच्चा कम्युनिस्ट संस्कार भएको बताए।
उनका अनुसार जब हरेक नेता तथा कार्यकर्ता आफ्नो जिम्मेवारीप्रति इमानदार, अनुशासित र उत्तरदायी हुन्छन्, तब मात्र पार्टी सुदृढ बन्ने, नेतृत्व सुरक्षित रहने र संगठन उचाइमा पुग्ने अवस्था सिर्जना हुन्छ।
पार्टी उठ्ने बाटो बाहिरबाट नभई सबैले आफ्नै ठाउँबाट जिम्मेवारी पूरा गर्ने संस्कारबाट सुरु हुने उल्लेख गर्दै उनले अहिलेको आवश्यकता आन्तरिक विवाद बढाउने नभई परिस्थितिको सामना गर्न थप एकताबद्ध भएर अघि बढ्ने शाहिले बताए।