सामाजिक संजाल:

पलाँतामा नगिन्द्र शाहीको पक्षमा उर्लियो जनलहर

फाल्गुन ८, २०८२

कालिकोट — “भरोसा कालिकोटको, संकल्प समृद्धिको” भन्ने नारासहित पलाँता गाउँपालिकाको घाटाचौर ‘बार्खेबजार’ क्षेत्रमा आयोजना गरिएको नेकपा (एमाले)को चुनावी सभामा ठूलो जनसहभागिता देखिएको छ। फागुन २१ गते सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगिन्द्र शाही (नेशनल), पूर्व कृषि मन्त्री तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाही, पूर्व पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै उम्मेदवार शाहीले पलाँताका जनताले यसपटक विकास, सुशासन र रोजगारीको पक्षमा निर्णायक परिवर्तन चाहेको बताए। उनले भने, “पलाँताका नागरिक अब आश्वासन होइन, परिणाम खोजिरहेका छन्। एमालेले समृद्धि र स्थायित्वको स्पष्ट योजना अघि सारेको छ।”
पूर्व मन्त्री कुर्मराज शाहीले कृषि, सडक र आधारभूत सेवामा सुधार ल्याउन एमाले नेतृत्व प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम प्राथमिकतामा राखिने बताए। यस्तै, लक्ष्मण बहादुर बमले जनताको उत्साहले पलाँतामा परिवर्तनको लहर स्पष्ट देखिएको दाबी गरे।
स्थानीयवासीहरूको व्यापक सहभागिताले घाटाचौर ‘बार्खेबजार’ क्षेत्र जनसागरमा परिणत भएको थियो। कार्यक्रममा उपस्थित नागरिकहरूले यसपटकको निर्वाचन विकास र परिवर्तनको आधारमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।