कालिकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै कर्णाली प्रदेश सदस्य तथा निर्वाचन परिचालन कमिटी कर्णाली प्रदेश सदस्य मानव बमले झापाबासी दाजुभाइ तथा दिदीबहिनीहरूका नाममा खुला पत्र पठाउनुभएको छ।
पत्रमा मानव बमले नेपालको लोकतन्त्र, संघीय गणतन्त्र र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि निरन्तर संघर्ष गर्दै आएका केपी शर्मा ओलीलाई दृढ, अनुभवी र भरोसायोग्य नेतृत्वका रूपमा चित्रण गर्नुभएको छ। उहाँले ओली देशलाई विकास, समृद्धि र आधुनिक प्रविधिसँग जोड्ने स्पष्ट दृष्टिकोण बोकेको निडर तथा कर्मशील नेता भएको उल्लेख गर्नुभएको छ।
आजको समय सामाजिक सञ्जालमार्फत भ्रम, आरोप–प्रत्यारोप र नकारात्मक प्रचार फैलिने अवस्था रहेको भन्दै वास्तविक नेता भनेको जनताको गुनासो सुन्ने, आलोचना स्वीकार गर्ने र त्यसलाई नीति, योजना तथा कार्यान्वयनमार्फत समाधानमा रूपान्तरण गर्न सक्ने व्यक्ति भएको मानव बमको भनाइ छ।
उहाँले झापा ५ र झापा जिल्ला केवल निर्वाचन क्षेत्र मात्र नभई देशको राजनीतिक चेतना, राष्ट्रप्रेम र निर्णायक मतको प्रतीक भएको उल्लेख गर्नुभएको छ। झापाको छोराको रूपमा देशको नेतृत्व गर्ने सामर्थ्य, राष्ट्रलाई विकास र निकास दिने स्पष्ट मार्गचित्र तथा जनताको घरदैलोमा पुगेर जवाफ दिने साहस केपी शर्मा ओलीमा रहेको उहाँको दाबी छ।
मानव बमले झापाबासी जनताले कुनै भ्रम, डर वा अफवाहको पछि नलागी स्थिरता, विकास र समृद्धिको पक्षमा उभिएर सही निर्णय गर्ने विश्वास व्यक्त गर्नुभएको छ। झापाबाट आउने निर्णयले देशभर सकारात्मक सन्देश जाने पनि उहाँले उल्लेख गर्नुभएको छ।
पत्रको अन्त्यमा उहाँले सत्यको पक्षमा उभिन, विकास, स्थिरता र समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्दै “झापाको गौरव, नेपालको भविष्य: केपी शर्मा ओली” भन्ने नारासहित शुभकामना व्यक्त गर्नुभएको छ।