सामाजिक संजाल:

अर्धवार्षिक समीक्षामा सामाजिक विकास कार्यालय कालिकोट पहिलो

माघ २७, २०८२


कालिकोट  २७ माघ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा निर्देशनालय सुर्खेतद्वारा आयोजित प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा कार्यक्रममा सामाजिक विकास कार्यालय कालिकोट उत्कृष्ट घोषित भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म सञ्चालन भएका कार्यक्रम तथा बजेट कार्यान्वयनको प्रगतिबारे गरिएको समीक्षामा कालिकोटले ४५.५ प्रतिशत वित्तीय तथा भौतिक प्रगति हासिल गर्दै प्रदेशका १० जिल्लामध्ये पहिलो स्थान प्राप्त गरेको हो।
भौगोलिक विकटता र सीमित जनशक्तिको अवस्थाका बाबजुद पनि समयमै योजनाको छनोट र कार्यान्वयन प्रक्रिया अघि बढाइएकाले कालिकोट कार्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको शिक्षा निर्देशनालयले जनाएको छ।
उत्कृष्ट नतिजा हासिल गरेपछि सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख अबिराज शाहीले टिमवर्क र पूर्वतयारी नै सफलताको मुख्य आधार भएको बताए। शाहिले भने,
“आर्थिक वर्षको सुरुदेखि नै योजनाहरूको छनोट तथा उपभोक्ता समितिसँग समन्वयलाई प्राथमिकता दियौँ। सीमित जनशक्ति र भौगोलिक कठिनाइका बाबजुद पनि स्पष्ट कार्यतालिका बनाएर काम गरेकाले ४५.५ प्रतिशत प्रगति सम्भव भयो।”
शाहिले बाँकी अवधिमा अझ प्रभावकारी रूपमा काम गर्दै शतप्रतिशत लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रदेश सरकारका प्रतिनिधिहरूले कालिकोटको कार्यशैलीलाई अन्य जिल्लाका लागि उदाहरणीय अभ्यासका रूपमा लिन सकिने बताएका छन्। आगामी दिनमा सामाजिक विकास कार्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढ्दै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिइएको शाहिले बताए ।