सामाजिक संजाल:

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र धर्मका लागि महताराको योगदान

माघ १८, २०८२

कालिकोट । नेकपा एमाले कालिकोट जिल्ला कमिटी सदस्य तथा शुभकालिका गाउँपालिका वडा नं. ८ का युवा समाजसेवी गंग बहादुर महतारा (एमस्टार) को व्यक्तिगत लगानीमा मन्दिर निर्माण सम्पन्न भएको छ।
शुभकालिका गाउँपालिका वडा नं. ८ अन्तर्गत पर्ने पोरिवाडा क्षेत्रमा अवस्थित नैनेलदेव देवताको मन्दिर महताराले आफ्नै व्यक्तिगत खर्चमा निर्माण गरेका हुन्। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको उक्त मन्दिर निर्माणका लागि उनले कुल रु. ५ लाख ५५ हजार खर्च गरेका छन्।
स्थानीय धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको नैनेलदेव देवताको पुरानो मन्दिर जीर्ण अवस्थामा पुगेपछि युवा समाजसेवी महताराले व्यक्तिगत पहलमा नयाँ मन्दिर निर्माण गर्ने निर्णय गरेका थिए। उनको यस पहलले स्थानीय बासिन्दामा खुसी र उत्साह थपिएको छ।
स्थानीय बासिन्दा ललित बिक ले महताराले कुनै सहयोगको अपेक्षा नगरी आफ्नै लगानीमा मन्दिर निर्माण गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएको बताए। उनले भने, “आजको समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र धर्मका लागि गरिएको यो काम ठूलो पुण्यको कार्य हो। गंग बहादुर महताराले समाजलाई सकारात्मक सन्देश दिनुभएको छ।”
त्यस्तै, अर्का स्थानीय देउरामे बिक ले युवा नेता महताराको योगदानप्रति धन्यवाद व्यक्त गर्दै भने, “हामीले धेरै नेताहरू देख्यौँ, तर व्यवहारमै समाजका लागि काम गर्ने व्यक्ति कमै हुन्छन्। महताराले काम गरेर देखाउनुभएको छ, यसका लागि उहाँ धन्यवादका पात्र हुनुहुन्छ।”
यसैगरी, स्थानीय पुने बिक ले समाज विकासमा यस्ता समाजसेवी व्यक्तिहरूको भूमिकाको चर्चा गर्दै भने, “गंग बहादुर महतारा जस्ता समाजसेवीहरूको कारण नै हाम्रो समाज विकासको गतिमा अगाडि बढिरहेको छ। यदि सबैले आफ्नो ठाउँबाट यस्तै योगदान दिए समाज परिवर्तन गर्न समय लाग्दैन।”
स्थानीयवासीहरूका अनुसार मन्दिर निर्माणपछि धार्मिक क्रियाकलाप सञ्चालन गर्न सहज भएको छ भने भावी पुस्तामा धार्मिक र सांस्कृतिक चेतना बढ्ने विश्वास लिइएको छ। महताराको यस कार्यले युवाहरूलाई समाजसेवातर्फ प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
युवा समाजसेवी गंग बहादुर महताराले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। मन्दिर निर्माणपछि स्थानीय बासिन्दाले सामूहिक रूपमा धन्यवाद व्यक्त गर्दै उनको कार्यको उच्च प्रशंसा गरेका छन्।
साथै आईतवार एक कार्यक्रम सहित पुजा-आरधना गरि मन्दिर समुदायलाई हस्तान्तरण गरिएको छ ।