सामाजिक संजाल:

भरोसा कालिकोटबासीको, संकल्प समृद्धिको : नगेन्द्र शाही ‘नेशनल’

माघ १४, २०८२

कालिकोट — नेकपा एमालेका कालिकोट जिल्लाबाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार नगेन्द्र शाही ‘नेशनल’ले “भरोसा कालिकोटबासीको, संकल्प समृद्धिको” भन्ने मूल नारासहित चुनावी अभियानलाई तीव्र बनाएका छन्।
कालिकोटका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताएका छन्। उनले भने, “कालिकोटबासीले देखाएको भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ। अब यो भरोसालाई समृद्ध कालिकोट निर्माणको संकल्पमा रूपान्तरण गर्ने समय आएको छ।”
उनले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र युवाको भविष्य सुनिश्चित गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। राजनीति पदका लागि होइन, जनताको जीवनस्तर परिवर्तनका लागि हुनुपर्छ, शाहीले जोड दिए।
शाहिका अनुसार एमाले नेतृत्वमा कालिकोटलाई विकासको मार्गमा अघि बढाउने स्पष्ट योजना रहेको छ र आफू निर्वाचित भए जनताको आवाज संसदमा मजबुत रूपमा उठाउनेछन्।
चुनावी अभियानका क्रममा स्थानीयवासीहरूले विकास, सुशासन र रोजगारीलाई मुख्य अपेक्षाका रूपमा राख्दै शाहीलाई समर्थन जनाउँदै आएको जिल्ला पार्टीले जनाएको छ।