
कालिकोट, रास्कोट — नेकपा एमाले रास्कोट नगर कमिटीको आयोजनामा चुनावी सभा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा रास्कोट नगर कमिटीका सभाध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगेन्द्र शाही ‘नेशनल’को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाही, जिल्ला पार्टी अध्यक्ष तुलाराज मल्ल, रास्कोट नगर कमिटी इन्चार्ज तथा कर्णाली प्रदेश कमिटी सदस्य लक्ष्मण बहादुर बम लगायतका नेताहरूको सहभागिता रहेको थियो।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नगेन्द्र शाही ‘नेशनल’ले देशको समृद्धि, स्थिरता र विकासका लागि नेकपा एमाले आवश्यक रहेको बताए। उनले जनताको पक्षमा काम गर्ने पार्टी एमाले भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।
केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाहीले कर्णालीको विकास र समृद्धिका लागि योग्य नेतृत्व आवश्यक भएको बताउँदै एमालेले मात्र जनअपेक्षा पूरा गर्न सक्ने दाबी गरे।
जिल्ला पार्टी अध्यक्ष तुलाराज मल्लले पार्टी संगठन सुदृढ बनाउँदै चुनावमा एकजुट भएर लाग्न कार्यकर्तालाई आग्रह गरे। उनले रास्कोट क्षेत्रबाट एमाले उम्मेदवारलाई भारी मतले विजयी गराउन सबैलाई सक्रिय भूमिका खेल्न अनुरोध गरे।
त्यसैगरी, रास्कोट नगर कमिटी इन्चार्ज तथा कर्णाली प्रदेश सदस्य लक्ष्मण बहादुर बमले जनताको साथ र समर्थनले एमालेको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनले चुनावी अभियानलाई गाउँ–गाउँसम्म पुर्याएर जनताको मन जित्ने गरी अघि बढ्न निर्देशन दिए।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सभामार्फत एमालेले रास्कोट क्षेत्रमा चुनावी माहोल तातेको नगर कमिटी सचिव कमल बरालले बताए ।