नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले रास्कोट नगरकमिटीको आठौँ बैठक सम्पन्न भएको छ। बैठक नेकपा एमाले रास्कोट नगरकमिटी अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकमा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा रास्कोट नगरकमिटी इन्चार्ज लक्ष्मण बहादुर बम प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने जिल्ला कमिटी उपसचिव पवित्र कुमार शाही विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
सभाध्यक्ष काली बहादुर शाहीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टी संगठनलाई पूर्ण रूपमा चुनावी अभियानमा परिचालन गरिने बताउनुभयो। उहाँले कालिकोटबाट नेकपा एमालेका उम्मेदवार नगेन्द्र शाहीलाई विजयी गराउन नगरकमिटी एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रमुख अतिथि लक्ष्मण बहादुर बमले आगामी प्रतिनिधि सभा निर्वाचन देशको राजनीतिक स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले कालिकोटमा नेकपा एमालेको जित सुनिश्चित गर्न पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता एकताबद्ध भएर मैदानमा उत्रिनुपर्नेमा जोड दिनुभयो। साथै, उम्मेदवार नगेन्द्र शाही जनताको पक्षमा काम गर्ने सक्षम, अनुभवी र भरोसायोग्य नेता भएको बताउनुभयो।
विशेष अतिथि पवित्र कुमार शाहीले संगठनात्मक अनुशासन, जिम्मेवारीबोध र योजनाबद्ध ढंगले निर्वाचन अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले फागुन २१ गतेको निर्वाचनमा कालिकोटबाट नेकपा एमाले र उम्मेदवार नगेन्द्र शाहीलाई विजयी गराउन पार्टीका सबै संरचना परिचालन गरिने स्पष्ट पार्नुभयो।
बैठकमा सहभागी प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार यसुदा बरालले महिला, युवा तथा पिछडिएका वर्गको सक्रिय सहभागिता सुनिश्चित गर्दै नेकपा एमालेको पक्षमा जनमत सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नगेन्द्र शाहीको विजयले कालिकोटको विकासमा नयाँ गति आउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, पूर्व जिल्ला कमिटी उपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि दयाराम सिम्खडाले पार्टीको इतिहास, संघर्ष र उपलब्धिको स्मरण गर्दै आगामी निर्वाचनमा नेकपा एमालेको जित अनिवार्य रहेको बताउनुभयो। उहाँले उम्मेदवार नगेन्द्र शाहीलाई विजयी गराउन सबै नेता–कार्यकर्ता एकढिक्का भएर लाग्न आह्वान गर्नुभयो।
बैठकले संगठनात्मक समीक्षा गर्दै प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी घरदैलो, जनसम्पर्क तथा प्रचार–प्रसार अभियानलाई थप तीव्र बनाउने निर्णय गरेको छ।