सामाजिक संजाल:

कालिकोट कांग्रेसमा देउवा पक्षको अधिवेशन असोज २७ र २८ गते

अशोज २४, २०८३

कालिकोट — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालिकोटमा आगामी असोज २७ र २८ गते जिल्ला अधिवेशन गर्ने भएको छ। जिल्ला नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले अधिवेशन गर्न लागिएको हो।
नेपाली कांग्रेसका जिल्ला संयोजक मातृका सिंहका अनुसार जिल्लाका ८२ वटै वडामा वडा अधिवेशन र नौवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अब क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको उनले जानकारी दिए। जिल्ला अधिवेशनका लागि वडा तथा पालिका तहबाट प्रतिनिधि छनोट भइसकेको र तयारीसमेत पूरा भएको सिंहले बताए।
अधिवेशनमा जिल्लाका नौवटै पालिका, ८२ वटै वडा र दुवै निर्वाचन क्षेत्रबाट दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। जिल्ला नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने आफ्नो प्रयास रहने उल्लेख गर्दै सिंहले सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट भए पनि नेतृत्वको टुंगो लगाइने बताए।
अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार र आन्तरिक एकतालगायत विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। जिल्ला नेतृत्वका लागि सहमति जुटाउने प्रयाससँगै अधिवेशनलाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले पनि चासोका साथ हेरिएको छ।

देउवा पक्षमा प्रभावशाली नेता र जनप्रतिनिधिको साथ
कालिकोटमा नेपाली कांग्रेसको गगन थापा पक्षको तुलनामा शेरबहादुर देउवा पक्षमा प्रभावशाली नेता तथा जनप्रतिनिधिको समर्थन बढी देखिएको दाबी गरिएको छ। देउवा पक्षमा जिल्लाका विभिन्न तहका नेताहरू तथा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका नेताहरूसमेत सक्रिय रहेको बताइएको छ।

देउवा पक्षमा प्रभावशाली नेताहरू भूपेन्द्रजंग शाही, दमन शाही, महिला नेतृ यशोदा शाही, दिलु बम, भगवती देभकाेटा भट्टराई , हस्त बम, पार्टी सचिव नगेन्द्र विष्ट, जिल्ला संयोजक मातृका सिंह, कोषाध्यक्ष केशरसिंह बम, सहसचिव भरत मल्ल, ध्रुवविक्रम शाही, मनराज शाहि ,सविन विष्ट, जगतजंग विष्ट, धर्मराज शाही, माधव पाण्डे, मनराज शाही, नेत्र शाही, पटक शाही, प्रकाश शाहि ,मेघराव विष्ट, वीरेन्द्र केसी, भानु आचार्य, लक्ष्मण शाही, खगिन्द पाण्डे र नवीन शाही लगायतका नेताहरू रहेको बताइएको छ।
त्यस्तै, प्रदेशसभा सदस्य हिक्मत विष्ट, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टसहित जिल्लाका सात जना वडाध्यक्ष पनि देउवा पक्षमा रहेको उल्लेख गरिएको छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका खाँडाचक्रमा तारा शाह, महावैमा मातृका सिंह, पलातामा केशरसिंह बम, पचालझरनामा टेकबहादुर बोगटी र रास्कोटमा नवराज बराललगायत नेताहरू पनि देउवा पक्षमा आबद्ध रहेको बताइएको छ।
जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरूबीच सहमति जुटाउने प्रयास र प्रतिनिधिहरूको समर्थन जुटाउने गतिविधि तीव्र हुने देखिएको छ। सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल हुन्छ वा निर्वाचनमा जानुपर्ने अवस्था आउँछ भन्ने विषयले कालिकोट कांग्रेसको आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ।