सामाजिक संजाल:

घरघरमा पुगेर भत्ता बाँड्दै रास्कोट

असार १८, २०८३

कालीकोट — कालीकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न कठिनाइ भोगिरहेका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका नागरिकहरूका लागि घरदैलोमै पुगेर भत्ता वितरण अभियान सञ्चालन गरेको छ।
सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरपालिकाले बैंकसम्म पुग्न नसक्ने लाभग्राहीहरूलाई लक्षित गरी घरघरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको हो।
नगरपालिकाका सामाजिक विकास शाखा संयोजक हुकुम शाहीका अनुसार अभियान अन्तर्गत हालसम्म विभिन्न वडाका १२२ जना लाभग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
संयोजक शाहीका अनुसार वडा नम्बर ६ का ४५ जना, वडा नम्बर ७ का २५ जना, वडा नम्बर ८ का १८ जना र वडा नम्बर ९ का ३४ जना गरी कुल १२२ जना लाभग्राहीले घरदैलोमै भत्ता प्राप्त गरेका छन्।
सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म धाउनुपर्ने बाध्यता र त्यसबाट हुने सास्तीलाई अन्त्य गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। विशेषगरी वृद्धवृद्धा, अशक्त तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी सेवा प्रवाहलाई सहज बनाइएको हो।
नगरपालिकाले ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा घरदैलोमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाएको संयोजक शाहीले जानकारी दिए। उनका अनुसार लाभग्राहीको सहजता, पहुँच र सेवाप्रतिको अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था प्रभावकारी सावित भएको छ।
घरमै भत्ता प्राप्त गरेपछि लाभग्राहीहरू खुसी भएका छन्। बैंकसम्म पुग्न नसक्ने अवस्था भएका वृद्धवृद्धा तथा अशक्त नागरिकहरूले नगरपालिकाको यो पहललाई राहतदायी र उदाहरणीय कार्यको रूपमा लिएका छन्।
स्थानीय तहबाट नागरिकमैत्री सेवा प्रवाहको अभ्यास गर्दै आएको रास्कोट नगरपालिकाको यो अभियानलाई सामाजिक सुरक्षा सेवामा प्रभावकारी र मानवीय अभ्यासका रूपमा हेरिएको छ।