सामाजिक संजाल:

पलाँतामा विशेषज्ञ स्वास्थ्य शिविर, पहिलो दिनमै २३० जना लाभान्वित

जेष्ठ ३०, २०८३

कालिकोट, जेठ ३० — कालिकोटको पलाँता गाउँपालिकामा दुई दिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविर सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा गाउँपालिकाको समन्वयमा सञ्चालन भएको शिविरको उद्घाटन पलाँता–४ स्थित कालिका माध्यमिक विद्यालय, छलाँहामा गरिएको हो।
शिविरको पहिलो दिन २३० जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। सेवाग्राहीमध्ये ८७ पुरुष र १४३ महिला रहेका छन्। शिविरमा दन्त, फिजियोथेरापी, भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सर परीक्षण, प्रयोगशाला सेवा तथा निःशुल्क औषधि वितरणलगायत सेवा प्रदान गरिएको छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. रत्नवीर सुनारको नेतृत्वमा २५ सदस्यीय स्वास्थ्य टोली र ८ जना विशेषज्ञ चिकित्सक खटिएका छन्। दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर जेठ ३१ गतेसम्म जारी रहने स्वास्थ्य सह–संयोजक हिमाल सज्यालले जानकारी दिएका छन्