कालिकोट, २० जेठ । सामान्यतया जटिल हाडजोर्नीका बिरामीलाई सुर्खेत वा नेपालगञ्जजस्ता ठूला अस्पताल रिफर गर्नुपर्ने अवस्था रहने कालिकोटमा यसपटक भने एक ११ वर्षीय बालकले जिल्लामै सफल उपचार पाएका छन्।
शान्नित्रिवेणी गाउँपालिका–४ का ११ वर्षीय तेज शाही हातको नाडी नजिक रहेको वृद्धि प्लेट (ग्रोथ प्लेट) मा भएको साल्टर–ह्यारिस प्रकार–२ फ्र्याक्चर तथा उल्ना हड्डीको तल्लो भाग भाँचिएको जटिल अवस्थासहित रास्कोट अस्पतालबाट जिल्ला अस्पताल कालिकोटमा रिफर भएका थिए। चोटको प्रकृति जटिल भएकाले तत्काल हाडजोर्नी विशेषज्ञको आवश्यकता थियो।
संयोगवश, महाबै गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा सहभागी हुन कालिकोट आएका कर्णाली प्रदेश अस्पताल सुर्खेतका हाडजोर्नी विशेषज्ञ डा. किशोर बिष्ट ले बालकको उपचारको जिम्मा लिए। डा. बिष्टको विशेषज्ञतापूर्ण उपचारपछि बालकको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
जिल्ला अस्पताल कालिकोटका चिकित्सक दर्शनराज पाण्डे का अनुसार बिरामीलाई थप उपचारका लागि सुर्खेत वा अन्य सुविधा सम्पन्न अस्पताल पठाउनुपर्ने अवस्था टरेको छ। “जिल्लामै उपचार सम्भव हुँदा बिरामी परिवारले ठूलो आर्थिक भारबाट राहत पाएका छन् भने स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सफल भएका छन्,” उनले भने।
कालिकोटमा स्थायी हाडजोर्नी विशेषज्ञको अभावका कारण यस्ता जटिल बिरामीहरू नियमित रूपमा बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ। तर यस घटनाले जिल्लामै विशेषज्ञ सेवा उपलब्ध गराउन सके धेरै बिरामीले सहज र प्रभावकारी उपचार पाउन सक्ने सम्भावना देखाएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
एक दिनका लागि जिल्लामा पुगेका विशेषज्ञ चिकित्सकको सेवाले केवल एक बालकको भाँचिएको हड्डी मात्र जोडेन्, एउटा परिवारको आर्थिक बोझ र मानसिक तनावसमेत कम गरिदिएको छ। यस घटनाले दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवाको आवश्यकता र महत्वलाई पुनः उजागर गरेको छ।