सुशासनको नमुना बन्दै सान्नी त्रिवेणी गाउँपालिका

रमेश कुमार साेनि
कालिकोट — महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार सान्नी त्रिवेणी गाउँपालिका कालिकोट जिल्लामै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ । गाउँपालिकाको बेरुजु प्रतिशत केवल ०.५८ रहेको छ, जुन कर्णाली प्रदेशमै दोस्रो न्यून बेरुजु भएको दाबी गरिएको छ ।
सार्वजनिक प्रतिवेदनअनुसार जिल्लाका अन्य स्थानीय तहको तुलनामा सान्नी त्रिवेणी गाउँपालिकाले आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्दै उत्कृष्ट नतिजा हासिल गरेको हो । गाउँपालिकाको कुल बेरुजु रकम ५२ लाख ३६ हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
गाउँपालिकाले योजना कार्यान्वयन, खर्च व्यवस्थापन तथा लेखा प्रणालीलाई प्रभावकारी बनाउँदै आएको कारण सकारात्मक परिणाम देखिएको स्थानीय तहका अधिकारीहरूको भनाइ छ । पछिल्लो समय डिजिटल प्रणाली, नियमित अनुगमन तथा पारदर्शी प्रशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाल ले कर्मचारी, जनप्रतिनिधि र नागरिकबीचको सहकार्यले यो सफलता सम्भव भएको बताए ।
बडुवालले भन्नुभयो, “हामीले आर्थिक अनुशासन, पारदर्शिता र जिम्मेवार कार्यसम्पादनलाई मुख्य आधार बनाएर काम गरिरहेका छौँ । त्यसकै परिणामस्वरूप सान्नी त्रिवेणी गाउँपालिका कालिकोट जिल्लामा पहिलो र कर्णाली प्रदेशमै दोस्रो न्यून बेरुजु कायम गर्न सफल भएको हो । आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र सुशासनमा जोड दिएर अघि बढ्नेछौँ ।”
स्थानीयवासीहरूले समेत गाउँपालिकाले विकास निर्माणसँगै आर्थिक पारदर्शितामा उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका छन् । गाउँपालिकाको यो उपलब्धिलाई जिल्लामै सकारात्मक सन्देशका रूपमा हेरिएको गाउपालिका इन्जिनियर रमेश सुबेदिले बताए ।