कालिकोट — कृषिमा आधारित साना व्यवसाय सञ्चालन गरेर कालिकोटका किसानहरू आत्मनिर्भर बन्दै गएका छन् । विशेषगरी तरकारी तथा अण्डा उत्पादनमार्फत गाउँमै रोजगारी र आम्दानीको राम्रो आधार तयार हुन थालेको छ ।
नरहरिनाथ गाउँपालिका–१ का जगत विष्ट (सितल) ले वार्षिक करिब ५० क्विन्टल आलु उत्पादन गर्दै आएको जानकारी सार्वजनिक भएको छ । स्थानीय स्तरमै उत्पादन बढाएर आम्दानीसँगै अन्य किसानलाई पनि कृषितर्फ आकर्षित गरिरहेको बताइएको छ ।
त्यसैगरी नरहरिनाथ गाउँपालिका–२ की हिउचुला नेपाली र तेजबहादुर दर्जीले कुखुरापालन व्यवसायमार्फत दैनिक करिब १०० वटा अण्डा बिक्री गर्दै स्वरोजगार बन्दै आएका छन् । उनीहरूले गाउँमै मेहनत र लगानी गरे आत्मनिर्भर बन्न सकिने उदाहरण प्रस्तुत गरेको स्थानीयवासीको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत नन्दादेवी बहुमुखी क्याम्पसका लेखापाल गर्णेश विष्ट ले किसानहरूको मेहनत प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “गाउँमा बसेर मेहनत गर्ने किसानहरू नै समाजका वास्तविक प्रेरणा हुन् । उत्पादनसँगै आत्मनिर्भरता बढ्दै जानु सकारात्मक पक्ष हो ।”
उनका अनुसार स्थानीय तहले यस्ता मेहनती किसानलाई प्रोत्साहन, बजार व्यवस्थापन र आवश्यक सहयोग गर्न सके ग्रामीण अर्थतन्त्र अझ मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् ।