यौन तथा प्रजनन स्वास्थ्य अधिकार तथा सकारात्मक यौनिकता विषयमा सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सशक्त बालिका परियोजना अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा किशोरकिशोरीमैत्री सेवा, लैंगिक समानता, सुरक्षित व्यवहार, यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सकारात्मक यौनिकतासम्बन्धी विविध विषयमा गहन छलफल गरिएको थियो। कार्यक्रममा समाजमा यौन स्वास्थ्यसम्बन्धी विषयलाई अझ खुला, तथ्यमा आधारित र सकारात्मक ढंगले प्रस्तुत गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहनेमा जोड दिइयो।
कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ बिनय ज्ञवालीले यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गरे। उनले विशेषगरी किशोरकिशोरी तथा युवाहरूलाई सही जानकारी, परामर्श र गुणस्तरीय सेवा उपलब्ध गराउन सञ्चार क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताए। सकारात्मक यौनिकताबारे खुला संवाद र तथ्यमा आधारित सूचना प्रवाह आजको आवश्यकता भएको उनको भनाइ थियो।
किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले समाजमा अझै पनि यौन स्वास्थ्य जस्ता संवेदनशील विषयमा खुलेर बोल्न हिच्किचाहट रहेको बताए। यस्ता कार्यक्रमले समाजमा रहेका भ्रम, लाज र संकोच हटाउँदै सही सन्देश प्रवाह गर्न मद्दत पुग्ने उनले बताए। समुदायस्तरसम्म सचेतना विस्तार गर्न मिडियासँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने उनले जानकारी दिए।
परियोजना संयोजक बलिराज शाहीले सशक्त बालिका परियोजनाले किशोरी तथा युवतीहरूलाई अधिकार, अवसर र जानकारीमार्फत सशक्त बनाउने लक्ष्य राखेको बताए। उनले यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे समुदायमा सकारात्मक सोच विकास गर्न सञ्चार क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा पत्रकारहरूले यस्ता विषयमा तथ्यमा आधारित, संवेदनशील र जिम्मेवार पत्रकारिता गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। उनीहरूले समाजमा सकारात्मक सोच निर्माण, हिंसा तथा विभेद न्यूनीकरण तथा किशोरकिशोरीलाई सही दिशा दिन सञ्चारमाध्यमले निरन्तर भूमिका खेल्नुपर्ने धारणा राखे।
सहभागीहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा समाजमा थप सचेतना फैलाउन, मिडिया र सरोकारवालाबीच सहकार्य सुदृढ गर्न तथा सकारात्मक यौनिकताबारे खुला बहसको वातावरण सिर्जना गर्न आवश्यक रहेकोमा जोड दिएका छन्। कार्यक्रमले विशेषगरी ग्रामीण समुदायसम्म सही सूचना पुर्याउने, किशोरी तथा युवतीहरूलाई आत्मविश्वासी बनाउने तथा सामाजिक विभेद अन्त्यतर्फ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।